साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि गरेका हुन् ।
नियमित स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उनले जानकारी दिए । अहिले ७५ वर्ष भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता पेलेकानोसले बताए । उनले अहिले कोरोना भाइरससम्बन्धी मापदण्ड पालना गरिरहेकाे र केही समय बाहिर ननिस्कने पनि प्रवक्ता पेलेकानोसले स्पष्ट पारे ।
साइप्रसमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । महामारी थप फैलिन नदिन स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन सरकारले आग्रह गर्दै आएको छ ।