सरकारले नागरिकता विधेयक हतारमा पारित गरेर नालायकीपन देखायोः शंकर पोखरेल



सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको नागरिकता विधेयकले नेपाली चेलीलाई अन्याय गरेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपालले आइतबार सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारले नागरिकता विधेयक हतारमा पारित गरेर नालायकीपन देखाएको बताएका हुन् ।


उनले भने, ‘फास्ट ट्रयाकबाट नागरिकता विधेयक ल्याएर हाम्रा आफ्नै रक्तसम्बन्धबाट जन्मिएका चेलीहरुले अन्याय ब्यहोर्नुपर्ने प्रबन्ध अहिलेको पाँचदलीय गठबन्धनले गरेको छ, त्यो कुरा गलत हो। सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो।’

महासचिव पोखरेलले नागरिकता विधेयक नेकपा सरकारमा रहँदाकै वखत प्रस्तुत भएको र राज्य व्यवस्था समितिमा लामो समयसम्म छलफल भएर निकालिएको निष्कर्षलाई अहिलेको गठबन्धन सरकारले फिर्ता गरी नयाँ विधेयक ल्याउनुले एकप्रकारको असन्तुलन पैदा गरेको बताए ।

नेपाली चेलीहरु भारतमा विवाह गर्दा उनीहरुले त्यहाँको नागरिकता पाउनको लागि सात वर्ष लाग्ने प्रावधान हुँदाहुँदै भारतीय चेलीहरु नेपालमा विवाह गरी आउँदा तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु दुई देशबीचको असमानता बढाउने खेल भएको टिप्पणी उनले गरे ।

‘नेपाली चेलीहरुलाई नै अन्याय हुनेगरी संसदमा नागरिकता विधेयक ल्याउने कुरा नै राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले अनुचित छ।’ महासचिव पोखरेलले भने।