सरकारले अति नै गरेपछि संसदमा उपस्थित हुनुपर्याे : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले अति नै गरेपछि आफू संसदमा उपस्थित हुनपरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार पक्षले जनतामा अफवाह फैलाएका कारण संसदमा आफै उपस्थित भएर प्रष्ट पार्नु परेको बताएका हुन्। उनले ओली र एमालेको नाम लिएर विभिन्न भ्रमपूर्ण सूचना राज्यले फैलाएको आरोप लगाए ।


उनले भने,‘एकजना सत्तापक्ष सांसदले संसदबाट इनफ इज इनफ भन्नुभएको थियो, अहिले चाहिँ इनफ भयो। सरकारले अति नै गर्यो ।’ ओलीले जनताई गुमराहमा राख्नेकुरा राज्यले गर्न नपाउने बताए । अध्यक्ष ओलीले एसपीपीका सम्बन्धमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नगराइएको बताए ।

उनले भने,‘यस्तो भ्रम राज्यमा बसेका नेताहरुले गर्न पाउँदैनन्। म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौं २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ । सरकार परिवर्तित भएको र नव गठित सरकारलाई जानकारी गराइएको थिएन। यसमा नेपाली सेनाको यस्तो चर्चामा आउनुपर्ने संस्था होइन। किन आयो भने सेनाले सोझै विदेशी दूतावासलाई पत्राचार गर्ने कुरा गर्ने यी कुटनीतिक मर्यादा प्रचलन केही अनुसार पनि भएनन् । त्यति बेला प्रधानमन्त्री रक्षामन्त्रीलाई कुनै कुरा पनि अवगत गराइएन। त्यसपछि यो विषय चुपचाप रह्यो कसैले चर्चा पनि गरेन।’

उनले संविधान जारी गर्दा को प्रधानमन्त्री थियो सबैलाई जानकारी नै रहेको भन्दै असोज ६ गते टिप्पणी फाइलमा कसले हस्ताक्षर गरेको थियो त्यो अध्ययन गर्नुपर्ने बताए।