समाजवादी केन्द्र निर्माणबारे छिट्टै टुंगोमा पुग्छौंः प्रचण्ड



जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक ल्याएर जनताको समस्या समाधान गर्न पाएकोमा आफू सन्तुष्ट रहेको बताएका छन् ।

शनिबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मधेसमा वर्षौदेखि नागरिकता समस्या रहेकोमा अब भने मधेसी जनताले उक्त समस्या झेल्नु नपर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।


अध्यक्ष प्रचण्डले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताए । उनले भने,‘जसपा पूर्णरूपमा फुटिसकेको अवस्था छ, यस्तो अवस्थामा बाबुराम भट्टराईसहित माधवकुमार नेपालजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ।’

उनले अहिले यसबारेमा अनौपचारिक छलफल मात्रै भएको र टुंगोमा पुग्न बाँकी रहेको बताए । उनले भने, टुंगोमा पुगेका छैनौं छिट्टै यस विषयमा निर्णय हुनेछ।’ उनले दिल्लीमा कांग्रेस नेत्रृ आरजु देउवा र आफूबीच सम्झौता भएको भन्ने भ्रम फैलाइएको बताए ।

उनले भने, ‘कुनै न कुनै आपराधिक गिरोहले हावा कुरा फैलाउन यस्तो प्रपञ्च रचेका रहेछन्, यसमा कुनै पनि प्रकारको सत्यता छैन।’