संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन, अनधिकृत व्यक्ति नदेखिएको प्रतिवेदनको निष्कर्ष



काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार दिउँसो समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् । बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।


बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ । समितिले नै मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारलाई सफाइ दिएको हो ।

संसदीय छानबिन विशेष समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव छन् । एमालेका चार सदस्यले भने समितिको यो प्रतिवेदनमा राखिएको निष्कर्षमा फरक मत राखेका छन् ।

यसैबीच, समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेका हुन् । संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि प्रतिनिधिसभा बैठक आगामी मंगलबार बस्ने गरी स्थगित भएको छ ।

असार २२ गते गठन भएको समितिले झण्डै १७ दिनको अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो । बजेट भाषण गर्नु अगाडि जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ बजेटमा करका दर हेरफेर गरेको प्रकरणमा संसदीय समिति गठन भएको थियो ।