विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ



धनगढी । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।


३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ।