काठमाडौँ । राष्ट्रिय सभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।
त्यस्तै मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।