राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग



काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर अधिकारी नेकपा एमालेको योजना तथा अर्थ विभागका सदस्य रहेको भन्दै कारबाही माग गरेकी हुन् ।

उनले भनिन्, ’नेकपा एमालेको उक्त विभागमा एम अधिकारी खोटाङ भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर भनिएको छ। ऐन, नियम विपरीत नियुक्त हुने र गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्छ। देशको अर्थतन्त्र सम्हाल्नुपर्ने व्यक्ति पार्टीको सदस्य रहेको कुरालाई गम्भीर ढंगले छानबिन गरियोस् र कारबाही गरियोस्।’


उनले एकातिर अर्थतन्त्र ध्वस्त हुँदै गएको आरोप लागेर कसैलाई अपराधि घोषित गर्ने र अर्कातिर गभर्नर नै प्रतिपक्ष दलको सदस्य भएको देखिनु आपत्तिजनक भएको बताइन् ।

उनले भनिन्,’दलको सदस्य भएपछि दलीय अनुशासन लाग्छ। दलका योजना पालना गर्नुपर्ने हुन्छ। कुनैपनि दलको विभागीय सदस्य रहँदा देशको सरकारको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ ?’

शर्माले प्रचलित कानुन र राष्ट्र बैकको ऐन विपरित भएकाले छानविन गरि कारवाही गरियोस् भनेर संसदमार्फत सरकारसँग माग गरिन् । त्यस्तै शून्य समयमा अन्जना विशंखे र अमृता थापाले पनि गर्भनर अधिकारीमाथि छानविन गर्न माग गरिन् ।