मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न निर्देशन



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन् । शनिबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको उल्लेख गर्दै कृषिमन्त्री यादवलाई राजीनामा गर्न सुझाव दिए ।

उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई निर्देशन दिए । अध्यक्ष ओलीले किसानले मल नपाईरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गरे । उनले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्ने बताए ।


उनले भने, ‘मल पाउँदैन, तपाईहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई ? दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ?’

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब बराबरको चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताए । अध्यक्ष ओलीले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोपसमेत लगाए ।