भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी



हुम्ला, असार १८ गते । हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् ।

५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन् । त्यसैले नवजात शिशुलाई काराङ खोला तराउने आँट यहाँका बासिन्दाले देखाउन सकेका छैनन् । सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन् ।  


राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेकोे बताए । उनले भने, “भूतप्रेतको डर नमान्न र निर्धक्क भएर गर्भवतीलाई स्वास्थ केन्द्रमा ल्याउन आग्रह गर्दा पनि कसैले मान्दैनन् । बच्चा जन्माउन स्वास्थ्य केन्द्रसम्म नआउँदा सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट पनि महिला वञ्चित हुने गरेका छन् ।” स्वास्थ्य केन्द्रमा बच्चा जन्माउँदा सुत्केरी भत्ता दिने व्यवस्था छ ।

स्वास्थ्य चौकीका प्रसूति सेवा हेर्ने स्वास्थ्यकर्मी कविता बुढाले गर्भ रहेको दुई, तीन महिनादेखि नै स्वास्थ्य चौकीमा नियमित परीक्षण गराउँदै आउने महिला बच्चा जन्माउने समयमा स्वास्थ्य चौकीमा नआउने गरेको बताए । “उनीहरूका परिवारले नै गर्भवतीलाई यहाँ ल्याउन मान्दैनन्”, उनले भने ।

स्वास्थकर्मी बुढाका अनुसार गर्भ जाँच गराउन आउने महिलालाई हरेक पटक सम्झाउने गरिएको छ । यति हुँदाहुँदै पनि न महिला आउन मान्छन् न त घरका पुरुषले नै पठाउन चाहन्छन् । काराङ गाउँका स्थानीय बासिन्दा पाल्तु शाहीले खोला तरेर स्वास्थ्य चौकीमा सुत्केरी गराउन जाँदा बाटैमा बच्चाको मृत्यु भएको घटनाले गाउँलेलाई अझै त्रसित बनाइरहेको बताए । 

उहाँका अनुसार केही वर्ष पहिले गाउँका दुई जना महिलालाई स्वास्थ्य चौकीमा सुत्केरी गराउन लैजाँदा नवजात शिशुको मृत्यु भएपछि बरु घरमा प्रसव पीडा भोग्नुपरे पनि स्वास्थ्य चौकीको आँगन टेक्न मान्दैनन् ।  स्वास्थ्य चौकी पुगेर पनि पहिलो शिशु गुमाएकी सङ्गीता शाहीले त्यसपछिका दुई सन्तान घरमै जन्माइन् । दुवै सन्तान जीवित छन् । सङ्गीता जस्तै अरू महिलाले जन्माएका शिशु हालसम्म स्वस्थ्य रहेको उनको भनाइ छ । 

बाल पोषणको अवस्था खासै राम्रो नभएको यस गाउँमा एक वर्षमुनिको बालमृत्यु दर भने रोकिएको छैन । स्थानीयवासीको अन्धविश्वासका कारण सुत्केरी गराउन स्वास्थ्य चौकी नआएपछि हाल काराङ गाउँमै सामुदायिक स्वास्थ एकाइ स्थापना गरिएको छ । तर त्यहाँ तालिम प्राप्त महिला स्वास्थ्य कार्यकर्ता र आवश्यक उपचार सामग्री छैन ।  खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले गाउँलेमा रहेको यस्तो अन्धविश्वास हटाउन आगामी साउनदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र दीर्घकालीन समाधान गर्न एकाइमा नै सुविधा सम्पन्न प्रसूति कक्ष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।