भित्री खोला जलविद्युत् आयोजनाको पावरहाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु



काठमाडौँ । जुम्लाको पावर हाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसामा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु भएको हो । 

हिमाको प्रहरी चौकीका अनुसार जुम्ला हिमा गाउँपालिका- १ आचार्य लिहीमा रहेको उक्त आयोजना पहिरोले पुरिदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।


मृत्यु हुनेमा पावरहाउसका अपरेटर गोरखबहादुर रावतका श्रीमति ३० वर्षीया विमला रावत, ९ बर्षीय छोरा भरत रावत र ७ बर्षीय छोरा सूर्य रावत रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार राति १ बजेतिर पावर हाउसमा पहिरो गएको थियो । घटनाको थप जानकारी आउन बाँकी छ ।