भारतको राष्ट्रपतिय निर्वाचनमा शिव सेनाले मुर्मूलाई सघाउने 



भारतमा हुन लागेको राष्ट्रपतिय निर्वाचनमा शिव सेनाले राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मूलाई सघाउने भएको छ ।  प्रभावशाली राजनीतिज्ञ उद्धव ठाकरेले नेतृत्व गरेको पार्टीले भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । 

भारतमा आगामी जुलाई १८ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भइसकेको छ ।  विद्रोही र सङ्घर्षपूर्ण जीवन बिताउनु भएको र महिलालाई राष्ट्रपति बनाउने अवसर भएकाले द्रौपदीलाई समर्थन गर्ने निर्णय भएको नेताहरूले जानकारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि आफूहरूले महिला उम्मेदवारलाई नै समर्थन गरेको उनीहरूको भनाई छ । 


राष्ट्रपतिका उम्मेदवारहरू मध्ये मुर्मूलाई समर्थन गर्ने विषयमा पार्टीमा कुनै मतान्तर नरहेको र सर्वसम्मत निर्णय भएको नेताहरूले जानकारी दिएका छन् ।   मुम्बईमा मङ्गलबार भएको बैठकमा शिव सेनाका सबै सांसदहरुले समेत मुर्मूलाई नै समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।