बागमती । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानविन गर्ने जनाएको छ ।
लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानविन गर्ने निर्णय गरेको छ । छानविनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ । लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरिएको सो समितिले जनाएको छ ।
उपसमितिमा एमालेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामा र विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्याल तथा सदस्य सचिवमा दीपक अधिकारीलाई तोकिएको छ । छानविन समितिको समय अवधि साउन १० गतेसम्म रहनेछ ।
उपसमिति सदस्य पौड्यालका अनुसार स्वास्थ्य उपकरण खरिदका विषयमा स्वास्थ्य मन्त्रालय र तत्कालीन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय तथा हालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत २०७६÷७७ देखि हालसम्म वितरण भएका अनुदान वितरणसम्बन्धी शीर्षक, सङ्ख्या र रकम प्राप्त गर्नेको सम्पूर्ण विवरण मन्त्रालयसँग सात दिनभित्र उपलब्ध गराउन माग गरिने बताइएको छ ।
यसैगरी बैठकले स्थानीय तहमा सार्वजनिक लेखा समितिको गठन र त्यसको प्रभावकारिताका विषयमा काठमाडौँ र धुलिखेलमा स्थानीय तहसँग अन्तक्र्रिया भएको छ ।