प्रधानमन्त्री देउवाद्वारा गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण



काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् । कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान प्रधानमन्त्री देउवाले अनावरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार थिए भने । “कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ, उहाँ युगपुरुष र शिखरपुरुष हुनुहुन्छ”, सभापति देउवाले भने ।


प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए । उनले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको स्मरण गरे ।

“गिरिजाबाबुले अगाडि सार्नुभएको सहमति, सहकार्य, एकता आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ”, उनले भने । म जे बोल्छु, त्यही गर्छु भन्ने गिरिजाबाबुको अडान भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।