पार्टी फुटाउने बाबुरामजीको षड्यन्त्र थियो, तर संख्या नपुगेर परास्त हुनुभयोः अध्यक्ष यादव



वीरगंज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् ।

वीरगंजमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा फुटाउने षड्यन्त्र संख्या नपुगेर परास्त भएको बताएका हुन् । उनले पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई बैठक बोलाउने अधिकार नदिएको बताए ।


उनले भने, ‘पार्टी विधानविपरीत राजीतिक रुपले गलत बाटोमा लैजाने प्रयासस्वरूप पार्टी विभाजन गरी बाबुरामजीले गुटको बैठक बोलाउनु भयो, यो गलत कार्य थियो ।’ उनले आफ्नो पक्षमा दुई तिहाईभन्दा बढी केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको दाबी गरे ।

उनले भने, ‘पार्टी फुटाउने जुन उहाँको षड्यन्त्र थियो, त्यो संख्या नपुगेर  नै उहाँ परास्त हुनुभयो । जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ ।’ गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराई पक्षले नयाँ पार्टी दर्ता गराउने प्रयासमा रहेको उनले बताए ।

बाबुराम भट्टराई, महिन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ, हिसिला यमीलगायत ९ जनालाई पार्टीको हितविपरीत कार्य गरेकाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको पनि उनले बताए । यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. भट्टराईलाई पदमुक्त गरी पार्टीका वरिष्ठ नेता अशोक राई परिषद् अध्यक्षमा सर्वसम्मतिले चयन गरेको थियो ।