पाकिस्तानमा बाढी पहिरोका कारण दुई महिनामा ३५७ जनाको मृत्यु



पाकिस्तानमा यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा तीन सय ७५ जनाको मृत्यु भएको छ । वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका घटना भएका छन् । ती घटनामा परी उनीहरूको मृत्यु भएको हो । ती घटनाका कारण अरु चार सयभन्दा बढी घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ ।

पाकिस्तानमा यस वर्षको मनसुन गत जुन १ देखि सुरु भएको मानिएको छ भने अधिकांश ठूला घटना जुन १४ देखिए भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणानुसार मानवीय क्षतिबाहेक पाकिस्तानमा भौतिक क्षति पनि धेरै भएको छ । क्षतिको विवरण हेर्दा देशभरि नै क्षति भएको देखिएको छ । मनसुन अझै नरोकिएकाले क्षति पनि अझै धेरै हुने अनुमान गरिएको छ ।


प्राधिकरणले २३ हजार सात सय ९२ घरमा पूर्ण तथा आङ्शिक क्षति भएको जनाएको छ । सडक, सञ्चार, विद्युत्, सार्वजनिक भवनहरूलगायतमा पनि क्षति पुगेको छ । प्रधानमन्त्री शाहबाज शरिफले बिहीबार ट्वीट गर्दै पाकिस्तानले जलवायु परिवर्तनले पार्ने असर भोगिरहेको उल्लेख गरेका छन् । उनले त्यस चुनौतीलाई सामाना गर्न तत्काल सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए ।