नेपाली भूभाग चीनविरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रष्ट छौंः गगन थापा



गगन थापा ।

मिति २०७९ असार २७ गते चीनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख श्री लिउ चियान छाओसँग भएको भेटघाट कार्यक्रममा हामीले नेपाल र चीनबिचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल गर्‍यौँ । नेपाली काँग्रेसले त्यस भेटवार्तामा राखेको धारणाका बारेमा विभिन्न सञ्चार माध्यमहरूबाट विभिन्न प्रकारका अनुमानहरू बाहिरिएकोमा त्यस्तो भेटवार्तामा भएका विषयहरूलाई स्पष्ट पार्न उपयुक्त हुन्छ । नेपाली कांग्रेस र चीनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख श्री लिउ चियान छाओसँग भएको भेटवार्तामा निम्न विषयहरूमा चर्चा गरिएको हो ।


१. नेपाली कांग्रेस, नेपाल-चीनबिचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल-चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्‍याउनु भएको योगदानप्रति गौरव र स्मरण गर्दछ।

२. नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ। नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत छ।

३. नेपाल कांग्रेस चीन लगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबिच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस भन्ने अपेक्षा पनि गर्दछ। तर, शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनुहुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ ।

४. नेपाली कांग्रेस नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तर (gap) लाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने ठान्दछ। नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहयता लिनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ ।

. यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको The Belt and Road Initiative (BRI) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकार सँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ ।

६. नेपाली कांग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पूरानो, र परिपक्व राजनीतिक शक्ति हो । अतः चीनप्रतिको नेपाली कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन । नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ । नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिने छ ।साथै निकट्तम् छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाई नेपाली कांग्रेसको हो ।

.चीनको,नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैँ समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्ने अपेक्षा र विश्वास राख्दछ।