नेपाली जनताले ससदीय समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुपर्छः अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको घटना छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन नेपाली जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय समितिको प्रतिवेदन स्वीकार गर्न नसकिने बताएका हुन् ।


उनले ११ जनाको समितिमा आफ्ना सात जना सदस्य राख्ने र बहुमतको निर्णय गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘कल डिटेल हेर्न किन मान्दैन ? यो देशविरुद्धको अपराध हो । मामुली कुरा हो यो ? ७ जनाले प्रमाणित गर्नै दिएनन् । ११ जनाको समिति बनाउने अनि बहमुतका आधारमा निर्णय गर्ने ? यो त संसदमा हुन्छ हुँदैन भनेर गर्न लगाएको भए भइहाल्थ्यो नि त । समितिको प्रतिवेदन तथ्यमा आधारित छैन । नेपाली जनताले त्यसलाई अस्वीकार गर्नुपर्छ ।’

उनले देश बर्बादीमा जान लागेको भन्दै त्यसलाई रोक्न आगामी निर्वाचनमा एमालेको बहुमत आवश्यक भएकाले त्यसका लागि खटिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमालेलाई अरुले सिध्याउन खोजेको भन्दै चौतर्फी हमलालाई चिर्न युवा संघलाई निर्देशन दिए । उनले भने,‘ चौतर्फी हमला भए पनि नेकपा एमालेलाई कमजोर पार्न खोजे पनि कमजोर पार्न सक्दैनन्। सबैलाई पराजित गरेर एमाले जित्न सक्छ भन्ने पुष्टि गर्नुपर्ने छ ।’ उनले सत्ता गठबन्धन ढोडको लौरा भएकाले न्यायालयलाई गठबन्धनको इशारामा नचल्न चेतावनी दिए ।