नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य



आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रनको योगदान दिए । उनले ५८ बल खेल्दै ६ चौकाको मद्दतमा ४० रन बनाएका हुन् । यसैगरी कप्तान सन्दिप लामिछानेले २२ रन जोड्दा विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १०/१० रन जोडे । दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७/७ रनको योगदान दिए भने कुशल भुर्तेलले ३ रन जोडे । नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका हमजा ताहिर एक्लैले चार विकेट लिए भने मार्क वार्टले तीन विकेट लिए ।


गाभिन मैनले दुई विकेट लिँदा क्रिस्टोफरले एक विकेट हात पारे । १२९ रनको विजयी लक्ष्य पच्छाएको स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ । उक्त सिरिजअन्तर्गत यसअघि नेपालले स्टकल्यण्डलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रन र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यता स्कटल्याण्डले भने नामिबियालाई दुवै खेलमा हराएको थियो ।