नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयककाबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो। सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसैदिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।


पेस भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरिरहेका छन्। आइतबार साँझ मात्रै गृहमन्त्री खाँणले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटघाट गरेका थिए।

सरकारले संसद्मा प्रस्तुत गर्ने नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ। विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौं युवाले नागरिकता पाउनेछन्। ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको छ।