दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा



बैतडी । पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

अवरुद्ध बनेको राजमार्ग सात घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।


राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध बनेपछि बझाङ, बैतडी र दार्चुलाका गाडीहरु बीच बाटोमा अलपत्र परेका थिए । अलपत्र परेका यात्रुहरू एकतर्फी सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा जान थालेका छन् ।