डोटीका ७६ प्रतिशत उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण



डाेटी । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका यहाँका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत उम्मेदवारले अझै पनि आफ्नो निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोग ऐन २०७३ परिच्छेद–५ को दफा २५ मा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल र भरपाईसहित तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्च विवरण बुुझाउनुुपर्ने कानुनी व्यवस्था छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार डोटीमा ३४३ पदका लागि एक हजार ५० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये हालसम्म जम्मा २५ प्रतिशतले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।


जिल्लामा नौवटा स्थानीय तहसहित जम्मा ६५ वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूूचना अधिकारी दलबहादुर मलासीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहबाट एक हजार ५० उम्मेदवारले आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता गराएका थिए । तीमध्ये हालसम्म करिब २५० जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाउनु भएको सूचना अधिकारी मलासीले बताए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार नौ स्थानीय तहमध्ये जोरायल र बडिकेदार गाउँपालिकाका कुनै पनि उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । अन्य स्थानीय तहका उम्मेदवारहरुमध्ये पनि अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै उम्मेदवारहरुलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुझाएपछि हालसम्म प्राप्त विवरण निर्वाचन आयोगमा पठाइने तयारी भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पाण्डेयले बताए ।

यसैबीच निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सबै जिल्ला निर्वाचन कार्यालयलाई उम्मेदवारले खर्च विवरण बुझाए यकिन गरी आवश्यक कारबाहीका लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेको छ ।