लमजुङ । बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ । गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो ।
डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध हटाएसँगै पुनःसवारी सञ्चालनमा आएको हो ।
गतवर्ष र केही हप्ता अघि गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । उक्त योजना कार्यालयका प्रमुख पन्तले भने, “वैकल्पिक रुपमा सञ्चालन गरिएको यस सडकसमेत दैनिकजसो पहिराले अवरुद्ध बनाउँछ, डोजरले पहिरो हटाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”