छानबिन समितिमा पूर्वअर्थमन्त्री शर्माको बयान : बजेट बनाउने बेला बाहिरका मान्छे पसेका छैनन्



काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गर्ने सम्भावना नरहेको जिकिर गरेका छन् । बिहीबार बजेट प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिलाई बयान दिने क्रममा शर्माले बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता अस्वीकार गरेका हुन् ।

समितिका एक सदस्यका अनुसार शमाले भने,’अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन । मैले कुनै गलत काम गरेको छैन।’


समितिले यस विषयमा सोधपुछका लागि आज शर्मालाई बोलाएको हो । समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गरेको हो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो । यसअघि समितिले अर्थ मन्त्रालयका अधिकारी तथा पूर्व अर्थसचिवलगायतसँग छलफल गरेको थियो । तर अर्थका अधिकारीहरुले भने बाहिरी व्यक्ति प्रवेशको कुरा अस्वीकार गरेका थिए ।