गठबन्धन छाडेर वामपन्थी एकतामा आउन ओलीको आह्वान-‘गल्ती भइहाल्यो, आउनुस् एमालेसँग मिलेर जाउ‘



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार नमिल्ने भएपछि त्यही पार्टीमा बसिरहनुपर्छ भन्ने नरहेको बताएका छन् ।

नेपाल-चीन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेपछि ओलीले विचार नमिल्ने पार्टीमा बस्न नहुने बताएका हुन् ।


उनले नेपालमा वामपन्थी भए कांग्रेस र गठबन्धन छोड्नुपर्ने बताए । उनले भने,‘गठबन्धनमा रहेका पार्टीका नेताहरु कुरा राम्रो गर्नुहुन्छ। तर, गठबन्धन पश्चिमतिर हिँडेको छ। उहाँहरु पूर्व जाने कुरा गर्नुहुन्छ। कांग्रेस, माओवादी र जसपाभित्र पनि राम्रो मान्छे छानेर कार्यक्रममा ल्याएको रहेछ। तपाईहरुले विचार व्यक्त गरेर छाड्ने होइन। विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ तपाईँहरू? विचार मिल्दैन भने पार्टी मिल्दैन। त्यसमै किन अल्झिरहनुभएको छ ?’

अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारको रक्षा गरेर वामपन्थी आन्दोलन अघि बढ्न नसक्ने भन्दै गठबन्धन छाड्न आग्रह गरे ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत जानेहरु वामपन्थी हुन भन्दै उनले प्रश्न दोहोर्‍याए। ‘सधै कांग्रेसको पुच्छर भएर हुँदैन। खोइ कम्युनिस्ट पार्टी? कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत गएको होइन? संसदबाट सकिएन परमादेशबाट सरकार बनाइ पाउ भनेर जानेहरु वामपन्थी हुन्? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्। गल्ती भइहाल्यो ल छोडौं। वामपन्थी हुनुहुन्छ भने आउनुस्। एमालेसँग मिलेर जाउ,’ उनले अपिल गरे।

उनले चुच्चे नक्सा छापेपछि एकजुट भएर सत्ताबाट अपवित्र साँठगाँठ गरेर आफूलाई हटाएको उनले बताए । उनले दुईवटै छिमेकीसँग असल मैत्री सम्बन्ध राख्नुपर्ने बताए ।

उनले भने,‘उत्तरतिरबाट बाटो खोलेवापत मैले सरकार छोड्नुपरेको थियो। मेरो मनमा देश, नेपाल, स्वाधिनता बाहेक अरु केही छैन। राष्ट्रिय हितबाहेक चीनको भूमि मेरो हो भनेर दाबी गरेर जान सक्छौं होला र ? हाम्रो चिन्ता हाम्रो भूमि हो भन्ने हिम्मत चाहिँ गर्नुपर्यो। हामीलाई कसैको भूमि चाहिएको छैन । आफ्नो खाजेको मात्र हो।’