केन्टकीमा बाढीमा परेर एकै परिवारका चार बालबालिकासहित २५ जनाको मृत्यु



पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् ।

बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् । बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धा तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएका छन् । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको छ ।


वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले छवटा काउन्टीमा आपत्काल घोषणा गरेका छन् । पूर्वी केन्टकीका केही क्षेत्रमा आज पनि बाढीको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी गरेको छ ।