एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको रुलिङ



काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपी कार्यान्वयनबारे के भइरहेको छ ? यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।


‘माननीय सदस्यहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनु हुन नेपाल सरकारलाई निर्देशन गर्दछु,’उनले भने। 

एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको अवस्थामा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदहरूले आवाज उठाएका थिए । उनीहरूले सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेका थिए ।

बिहीबारको बैठकमा मात्रै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा (एमाले) सांसद भीम रावलले एसपीपीबारे सभामुखको रुलिङ माग गरेका थिए ।