जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८÷७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८÷७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो ।
अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७÷७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८÷७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फछ्र्योट गरिएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८÷७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ ।
आव २०७८÷७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने÷डिसीएम लागू हुनुपुर्वका ७४७ मुद्दा फछ्र्योट भएका छन् । आव २०७७÷७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फछ्र्योट गरेको थियो भने आव २०७६÷७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो । सो अदालतले आव २०७५÷७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फछ्र्योट गरेको थियो ।
कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताए । अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ ।