इटालीको हिम पहिरोमा हराइरहेका व्यक्ति ‘जीवित भेटिने सम्भावना’ न्यून



इटलीको डोलोमाइट्सको उच्च पहाड मार्मोलडामा गएको हिम पहिरोमा परी मृत्यु भएकामध्ये छ जनाको शब हिमपहिरोबाट निकालिएको उद्धारकर्मीहरूले जनाएका छन् । सोमबार उद्धारकर्मीले दिएको जानकारीअनुसार अत्यधिक गर्मीका कारण हिम नदी पग्लिएर गएको हिमपहिरोमा परी कति आरोहीहरू प्रभावित भए भन्ने कुरा अझै पुष्टि गर्न नसकिएको बताए ।

टेरेटो प्रान्तका प्रमुख मौरिजियो फुगाट्टीले स्थानीय मौसम पूर्वानुमान शाखालाई उद्धृत गरी हिउँ र चट्टानसहितको पहिरो ३०० किलोमिटर (१८५ माइल) प्रति घण्टाको वेगमा पहाडबाट झरेको पुष्टि गरेका छन् । सोमबार थर्मल ड्रोनसहित घटनास्थल वरिपरी पुगेका उद्धारकहरूले बरफमा फसेका सम्भाव्य जीवितहरूको खोेजी जारी राखेका छन् ।


यद्यपि उनीहरू जीवित पाइने आशा तीव्र गतिमा घट्दै गइरहेको यस क्षेत्रका अल्पाइन उद्धार सेवाका प्रमुख जर्जियो गाजेरले एजीआई समाचार संस्थालाई बताए । उद्धारकर्मी जिनो कोमेलीले भने,“अहिलेसम्म छ वटा लास ‘क्षत विक्षत अवस्थामा फेला’ परेको छ ।”

इटालेली आल्प्सको सबैभन्दा ठूलो हिमनदीको चुचुरोमा १० डिग्री सेल्सियस (५० डिग्री फारेनहाइट) तापक्रम रेकर्ड गरिएको एक दिनपछि उक्त विपत्ति आएको हो । विशेषज्ञहरूको भनाइअनुसार दशकौंको विश्वव्यापी उष्णताले गर्दा हिमनदी वरपरको क्षेत्रमा अझै जोखिम रहेको बताइएको छ ।

अल्पाइन उद्धार प्रवक्ता मिशेला क्यानोभाले एएफपीसँग भन्नुभयो, “हिउँ, बरफ र चट्टानको पहिरोले डोरीको सहायतामा हिमाल आरोहण गरिरहेका कैयौं मानिसहरूलाई प्रभावित पारेको अनुमान गरिएको छ । टेरेटो प्रान्तका प्रवक्ताले धेरै मानिसहरू हराएको रिपोर्ट आएको तर सङ्ख्या एकीन भने भइनसकेको बताए ।

टेरेटोका मुख्य अभियोजनकर्ता सान्द्रो रामोन्डीलाई उद्धृत गरी कोरेयर डेला सेराले कारपार्कमा गाडीको संख्याको आधारमा मृतकहरूको संख्या अहिलेकोभन्दा तेब्बरभन्दा बढी रहेको हुनसक्ने अनुमान गरिएको बताएको छ । तर क्यानोभाले यसमा संलग्न आरोहीहरूको कुल सङ्ख्या ‘अहिलेसम्म थाह नभएको’ भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

घटनामा परेका आठ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पतालमा पठाइएको र उनीहरूको अवस्था खतरामुक्त भएको यपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।