अर्थमन्त्रीसँग असन्तुष्टि जनाउँदै अर्थ सचिव मरासिनी बिदामा



काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

बजेट निर्माणका क्रममा अनिधिकृत रूपमा बाहिरका व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी अनिश्चितकालका लागि विदामा बसेका छन् । बिदा बस्नुअघि उनले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर र मुख्य सचिव शंकरदास वैरागीलाई टेलिफोन गरेर आफू बिदामा बस्ने जानकारी गराएको बताइएको छ ।


अर्थमन्त्रीको सचिवालयले भने पत्नी बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको बताएको छ । अर्थ सचिव मरासिनीले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नआउने घोषणा गरेको बताइएको छ । अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेको छ।

यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसदमा अर्थमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिनको सिसीटिभी फुटेजसमेत मेटिएको सूचना सार्वजनिक भएपछि अर्थमन्त्री मात्र नभएर अर्थ मन्त्रालयमाथि व्यापक आलोचना भइरहेको छ।