काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । उनी चार्टर्ड विमानबाट भारत हुँदै बिहीबार अपरान्ह काठमाडौं आएका हुन् ।
दुई दिने भ्रमणमा नेपाल आएका उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको दुईदिने भ्रमणमा आएका हुन् । लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने छन् ।
दूतावासले भनेको छ, ‘दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका लागि उहाँले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्नुहुन्छ। यो पटकको भ्रमणका अवसरमा पनि उहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ।’