हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहे पनि पार्टीको पुनर्गठन अपरिहार्य : डा. भट्टराई



काठमाडाैँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत गरेका छन् ।

जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उनले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाएका छन् । उनले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकीर ती बुँदाहरुमा गरेका छन् ।


‘पार्टीको कानुनी वैधता निरुपण गर्ने आफ्नै प्रक्रिया छ । त्यो काम निर्वाचन आयोग गर्दै गर्ला,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको– दुवै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ ।’

वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका छन् । उनले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका छन् ।

बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहेपनि पार्टीको पुनःगठन अनिवार्य र अपरिहार्य रहेको दाबी गरेका छन् । यही विस्तारित बैठकले पार्टीको पुनःगठन कसरी गर्ने भन्नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ,’ उनले भनेका छन्, ‘पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहङगम विचार, विमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’