सुर्खेतमा दुई क्विन्टल अवैध मङ्गुर माछा जफत गरी नष्ट



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मङ्गलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो ।

अनुगमनका क्रममा प्रतिबन्धित मङ्गुर माछाको बिक्री वितरण भइरहेको सूचना पाएलगतै टोली त्यहाँ पुगेर हटियालाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिकृत थापाले बताए । उनका अनुसार जफत गरिएका मङ्गुर माछा आज वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जङ्गलमा गाडेर नष्ट गरिएको छ ।


माछा व्यवसायीलाई भने फेरि पनि अवैधरूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएर छोडिएको उनले बताए । भारत तथा अन्तरप्रदेशबाट प्रतिबन्धित मङ्गुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछा जिल्लामा अवैध तवरले आयात नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको रोहवरमा गत जेठ १८ गते बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले सुर्खेतमा मङ्गुर माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

विज्ञका अनुसार माछाको वर्गीकरणमा नराखिएको मङ्गुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदूषण हुने गर्दछ । अत्यधिक मात्रामा हेभिमेटल पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोग निम्तिने उनीहरुको भनाइ छ । उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारको सहभागिता रहेको थियो ।