सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १०५ भन्दा बढी



सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् ।

जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन् ।


राज्य स्वास्थ्य मन्त्री जमाल नासरले एएफपीसँग राजधानी अल–दमाजिनबाट टेलिफोनमार्फत दिएको जानकारीमा भने, “अहिले स्थिति शान्त भएको छ । सेनाको तैनाथीले शनिबारदेखि लडाइँलाई कम गरेको छ ।“

विशेष गरी दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारहरूले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईवस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक यस्ता घातक झडपहरू हुन्छन् ।