समितिले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टबारे विज्ञहरुसँग बसेर छलफल गर्ने



काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनको अध्ययन थालेको छ ।

मंगलबार बिहान बसेको समितिको बैठकमा प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनमाथि अध्ययन सुरु गरेको हो । तर समितिले प्राविधिक विषय भएकाले यसबारे थप जानकारी लिनका लागि विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।


समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदनमा भएका विवरणहरु प्राविधिक भएकाले विश्लेषणकै क्रममा रहेको बताए। फरेन्सिक ल्यावसँग सम्बन्धित विज्ञहरु चाहिने भएकाले अपरान्ह विज्ञहरुसँग बसेर प्रतिवेदन सम्बन्धमा छलफल गर्ने उनले बताए ।

सम्बन्धित टीमले नै यसबारे जानकारी गराएपछि एकीन भन्न सकिने अर्यालले बताए । प्रहरीले पठाएको रिपोर्टमा अर्थ मन्त्रालयको सीसीटीभीबाट डिलिट भएको भिडियो पनि समावेश भएको बताइएको छ । त्यसमा १४ गते रातिको भिडिओ समावेश रहे/नरहेको चाहिँ स्पष्ट भइसकेको छैन । यसअघि अर्थ मन्त्रालयले आफ्नो सीसीटीभीको रेकर्डमा १३ दिनपछि स्वतः फुटेज डिलिट हुने बताएको थियो ।