सडक विग्रिएका कारण ढुवानी हुन नसकेपछि दुर्गन्ध हटाउन प्लाष्टिकले छोपियो फोहोर



काठमाडौँ । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । वर्षाले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन ।

अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन साहको सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ ।


त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ । प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ ।

ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ ।

यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ । यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन ।

निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । यहाँबाट फोहोर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।