संसदमा मिस्टर एम. को



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिने क्रममा थापाले गभर्नरमाथि प्रश्न उठाएका हुन् ।

राजनीति दलमा आबद्धतालाई लिएर माओवादीले छानबिन गर्नुपर्ने माग गरिरहेका बेला थापाले गभर्नरमाथि प्रश्न उठाएका छन् । उनले भने, ’मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम. अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु ।’


उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउन सुझाव दिएका छन् ।

उनले भने, ‘तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिहरूलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ । परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’ सेयर बजारबारे राष्ट्र बैंकले ल्याएको नीति गलत रहेको पनि थापाको भनाइ थियो ।