श्रोत नखुलेको ३४ लाख नगदसहित तीनजना पक्राउ



धनुषा । प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१२ कुवाँबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार समीलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय बुद्दिराम बरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाक प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्वज अनुसन्धान कार्यालय वुटवल पठाइएको छ ।


त्यस्तै पर्सा, वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत घर भएका ३० वर्षीय बालकृष्ण कुमारलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।