श्रीलङ्काको सत्तारुढ दलले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने



श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।

सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको पुष्टि गरे । उनलाई उम्मेदवार बनाएर सबैको समर्थन जुटाउने प्रयास भइरहेको पनि कारियावासामले जानकारी दिए ।


सभामुख महिन्दा यापा अबेवार्डेनाले जुलाई २० मा निर्वाचन गर्ने घोषणा शुक्रबार गरेका थिए । प्रधानमन्त्री विक्रमासिङ्घेलाई पनि शुक्रबार नै अन्तरिम राष्ट्रपतिको रुपमा सपथ खुवाइएको छ । उनले अर्को राष्ट्रपति निर्वाचित नहुँदासम्म मात्रै जिम्मेवारी निर्वाह गर्नेछन् । योसँगै उनले राष्ट्रपति र प्रधानमन्त्रीको दुवै जिम्मेबारी पाएका छन् ।

आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनले राजनीतिक परिवर्तन र सङ्कट उत्पन्न गराएको छ । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिइसकेका थिए भने अहिले राष्ट्रपतिले राजीनामा दिएका हुन् ।