श्रीलङ्काका राष्ट्रपति गोटाबय भागेर माल्दिभ्स पुगे



श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन् । देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन् । ७३ वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका बीबीसीले जनाएको छ ।

उनले देश छोडैसँगै श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने राजपज्ञ परिवारको राजनीतिक वर्चस्व अन्त्य भएको छ । शनिबार हजारौँ प्रदर्शनकारीहरूले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेदेखि उनी लुकिरहेका थिए । यसअघि राष्ट्रपतिले जुलाई १३ (आज) राजीनामा दिने वचन दिएका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजपक्षले पनि देश छाडेको बताएको छ। उनी अमेरिका प्रस्थान गर्न लागेको बताइएको छ ।


राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् । मङ्गलबार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए । श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ । महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन् ।

पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ । देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ। यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ ।

अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमतिको नजिक पुग्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन । संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएको खण्डमा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उनको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ।