श्रीलंकाका राष्ट्रपति राजपक्षले बुधबार राजीनामा दिने



श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन् । प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन् । आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्।

शनिबार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्याएका थिए । राष्ट्रपति राजपक्षले आगामी बुधबार राजीनामा दिने जानकारी गराएका छन्।


प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघिनै राजीनामा दिन सहमत भएका छन् । संसद्का सभामुखले सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्।

उनले जनतालाई कानुनको सम्मान गर्न पनि आह्वान गरेका छन् । घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ । शनिबारको घटनापछि अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो । शनिबारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए।

कोलम्बोस्थित मुख्य अस्पतालका प्रवक्ताले उपचाररतमध्ये कम्तीमा तीन जना गोली लागेका घाइते भएका बताएका छन् । श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ। दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो।