श्रीलंकाका राष्ट्रपतिको निवासमा प्रदर्शनकारीको आक्रमण, भागे राष्ट्रपति गोटाबाया राजापक्ष



श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजापक्षको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । प्रदर्शनकारी निवासमा प्रवेश गरेपछि राष्ट्रपति राजपक्षलाई सुरक्षित ठाउँमा लगिएको छ । यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए । सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो । दशकौँ यताको सबैभन्दा खराब आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा भएका यी ताजा प्रदर्शनहरू हुन् । श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।