शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै



कञ्चनपुर । । बेलौरी नगरपालिकाले शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि कार्य अगाडि बढाएको छ । नगरपालिकाले ताल संरक्षण गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाएको छ ।

पुरिँदै जान थालेको ताल क्षेत्रको माटो झिक्ने कार्य गत वर्ष नै पूरा गरिएको थियो । “तालको वरिपरी हिँडनका लागि फुटपाथ निर्माणको कार्य पूरा भएको छ”, नगर उपप्रमुख जोगराज चौधरीले भने, “कार्यालय भवन निर्माण गरेका छौँ, प्रवेशद्वार निर्माणको कार्य अगाडि बढाइएको छ, ताल क्षेत्र वरिपरीको क्षेत्रमा वृक्षरोपणको कार्य गरिएको छ ।”


उनका अनुसार पर्यटकका लागि विश्राम घर निर्माणको कार्यसमेत पूरा गरिएको छ । तालमा सुख्खायाममा पानी सुक्ने समस्या भएकाले यसबारे अध्ययनको कार्य नगरपालिकाले अगाडि बढाएको छ । बाह्रैमहिना तालमा पानी अड्ने व्यवस्था गर्नका लागि विज्ञको सल्लाहअनुसार कार्य भइरहेको नगर उपप्रमुख चौधरीले बताए ।

ताल क्षेत्रको पाँच वर्षे गुरुयोजना बनाइ कार्य अगाडि बढाइएको छ । योजनाअनुसार ताल वरिपरिको क्षेत्रमा पार्क निर्माण गर्ने, पर्यटकको मनोरञ्जनका लागि तालमा डुङ्गा(बोट) सञ्चालन गर्ने, ताल क्षेत्रको दृश्यावलोकनका लागि भ्यू टावर निर्माण गर्ने लगायतका कार्य हुने नगर प्रमुख पोतिलाल चौधरीले बताए ।

“तालमा एकनासको पानीको व्यवस्था गर्नका लागि डिप बोरिङ जडानको कार्यसमेत गर्छौँ”, उनले भने, “ताल क्षेत्र नजिकैको थारु समुदायको बस्तीमा होमस्टे सञ्चालन गर्ने योजनासमेत छ, आर्थिक रुपमा विपन्न परिवारको जिवनस्तरमाथि उठाउनका लागि होमस्टेले सघाउ पु¥याउने छ, थारु समुदायको वेषभूषा, रहनसहन, रीतितिथि जोगिन्छ ।” होमस्टे सञ्चालनका लागि अनुदानको समेत व्यवस्था गरिने उनले बताए । चालु आवमा तालको संरक्षण र भौतिक पूर्वाधार निर्माणका लागि रु ५० लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ ।

नगरपालिकाको बजेटले मात्रै पर्यटकीय क्षेत्रको विकास गर्न नसकिने भएकाले अन्य क्षेत्रबाट समेत लगानीका स्रोत खोज्ने कार्यमा जुटेको नगर प्रमुख चौधरीको भनाइ छ । सि आकारमा रहेको सोभा ताल क्षेत्र २० बिघा क्षेत्रफलमा फैलिएको छ । तालमात्रै १५ बिघा जग्गामा रहेको छ । यस तालको थोरै क्षेत्रमा स्थानीयवासीले माछापालनको कार्य गर्दै आएका छन् । बर्सेनि वर्षाको पानीसँगै बगेर आउने माटो बालुवाका कारण ताल पुरिँदै जान थालेको थियो ।

नगरपालिकाले ताल संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने चासो देखाएपछि पुरिँदै गएको ताल पुरानै अवस्थामा फर्किएको छ । “ताललाई सौन्र्दयकरण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्छौँ”, नगर प्रमुख चौधरीले भने, “अबको पाँच वर्षभित्रै यो कार्य पूरा हुन्छ ।”