शेखर पक्षले भन्यो-देउवा पार्टीको नभइ गठबन्धनको सभापति हुनुभयो



काठमाडौँ ।  नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।

बिहीबार र शुक्रबार भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको नभई गठबन्धनधको सभापति भएको निष्कर्ष निकालेको हो । केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई समेट्न नसकेको भेलाको निष्कर्ष रहेको जानकारी दिए । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको पोखरेलले बताए ।


उनले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताए ।

भेलाले राजश्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निष्कर्ष निकालेको छ । केन्द्रिय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा काँग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा पनि जोड दिएको बताए ।