व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण



तनहुँ । तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने प्रक्रिया स्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपूर्जाको निस्सा वितरण गरे । व्यास –१ का ४४ भूमिही दलित, ४५ भूमिहीन सुकम्बासी र तीन सय ६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिए । निस्सा लिन नआएकाहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत् वितरण गरिने उनले बताए ।


भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दावी विरोध स्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने मूलले बताए । नगरपालिकाका १४ वटै वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब दश हजार जना रहेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भूमिहिनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले निस्साकै आधारमा अब जग्गा नापजाँचको प्रक्रिया अगाडी बढ्ने बताए । जिल्लाका अन्य स्थानीय तहहरुले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण सुरु गरेका छन् । केही दिन अगाडी मात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपूर्जाको निस्सा वितरण गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नम्बर १ र २ तथा देवघाट गाउँपालिकाले वडा नम्बर ५ मा निस्सा वितरण गरेको छ ।

विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरुलाई नाप नक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । वडा नम्बर १ का ९५ र वडा नम्बर २ का ९९ जनालाई निस्सा बाँडिएको छ । गाउँपालिकाले ६ वटै वडाका आठ सय ८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडी बढ्ने भएकाले भूमिहीनले लालपूर्जा पाउने अध्यक्ष चुमानले बताए ।

देवघाट गाउँपालिकाले वडा नम्बर ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ । पटक–पटक बनेको भूमि आयोगले लालपूर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपूर्जा पाउन सकेका छैनन् । यसअगाडी शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन् । शुक्लागण्डकीले पहिलो चरणमा दुई सय ४७ जनालाई निस्सा वितरण गरिएको छ ।

नगरपालिकाका १२ वटै वडाबाट चार हजार चार सय तीन भूमिहीनको निवेदन सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिकाले ६ वटै वडाका तीन सय २५ जनालाई निस्सा वितरण गरिसकेको छ ।