वैशाख ११ गते पूर्वराजा ज्ञानेन्द्रले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको ओलीको दाबी



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दावी गरेका छन् ।

शुक्रबार छविलाल कार्की स्मृति तथा रक्तदान कार्यक्रममा अध्यक्ष ओलीले राजतन्त्रसँग माओवादी केन्द्रको कार्यगत एकता रहेको दाबी गरे । उनले भने,‘प्रचण्डपथ भनेको देशलाई भड्कालोमा लैजाने पथ हो । देशलाई अन्धकारमा लैजाने पथ हो ।’


उनले माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र त्यसपछि मारिएको व्यक्तिहरुप्रति माफी माग्नुपर्ने बताए । उनले भने, ‘स्वीकारोक्ति छैन । अहंकार छ । दम्भ छ । मान्छे मारेको छ । लज्जाबोध छैन । अफठ्यारो केही लाग्दैन ।’

ओलीले माओवादीकै कारण युवा जनशक्ति खाडीतिर जाने अवस्था प्रारम्भ भएको दाबी गरे । उनले भने,‘देशमा बस्नेलाई धम्क्याउन थालेपछि गाउँमा बस्न नसकेर युवा खाडीतिर जान थाले । माओवादीले कुनै उद्यम रोजगारी सिर्जना गर्नेतिर कदम चाल्नै दिएन ।’

यसैबीच, २०६२/०६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको ओलीले दाबी गरेका छन् ।

‘त्यसमा मैले दुईवटा कुरा गरेको थिएँ, भंग गरेको पुर्नस्थापना गर्दिएको छु,दलीय व्यवस्था फर्काइदिएको छु,जनताको नासो जनतामा फर्काएको छु भनेर’, ओलीले ड्राफ्ट रहेको विषयवस्तुबारे भने, ‘अथवा विघटित संसदको पुर्नस्थापना भएको थियो, त्यति न हो !’ उनले संसद पुर्नस्थापनाका लागि १७ हजार मार्नुपर्छ भन्दै माओवादीलाई प्रश्न समेत गरे । ‘त्यसकारण माओवादीको उदेश्य अर्कै थियो । सटकट बाटोबाटो सत्तामा पुग्ने,अस्थिरता सिर्जना गर्ने, देशको होइन अरुको भलाई गर्ने के के उदेश्य थिए ती उनीहरु भन्न सक्दैनन्’, ओलीको भनाइ छ । उनले माओवादीले त्यसबेला राजतन्त्रसँग कार्यगत एकता रहेको एमाले र काँग्रेससँग शत्रुता रहेको बताए ।