वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णयपछि मात्रै : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामाको विषय सत्ता गठबन्धनले टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौंमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए । 


‘गठबन्धनको निर्णयअनुसार संघ र सबै प्रदेशमा सरकार बनाएको हो । गठबन्धनले बनाएको सरकार हो गठबन्धनले मुख्यमन्त्री हट्नु पर्छ भनेर निर्णय गरेको छैन । त्यसैले अहिले छाड्नु पर्दैन । गठबन्धनबाट निर्णय भयो भने छाड्ने कुरामा हामी प्रतिबद्ध छौं,’ अध्यक्ष नेपालले भने ।

गठबन्धनमा छलफल गरेरमात्रै यस विषयमा टुंगो लगाइने पार्टीका प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यस्तै बागमती मात्रै नभएर अरू प्रदेशका पनि मन्त्रालयहरू बाँडफाँट गर्ने गरी शीर्ष तहमा पुगेर छलफल गर्नुपर्ने निर्णय भएको खतिवडाले बताए ।