राष्ट्रियसभामा नागरिकता विधेयक टेबुल



काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक सभा समक्ष टेबुल गरे ।

सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गरे ।


त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर अहिले दोस्रो बैठक सुरु भई नागरिकता विधेयकमाथि छलफल भइरहेको छ ।