यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैनः प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा दलाल पूँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अध्यक्ष प्रचण्डले अबको निर्वाचनबाट दलाल पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको बताएका हुन् ।


उनले अब राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए ।

उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए । उनले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकुल नभएको दाबी गरे । उनले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए ।

उनले भने, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । ठूलो आन्दोलन गर्नुपर्ने भयो । नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरिमा लैजान्छ । भड्खालोमा नै लैजान्छ । अनि हाम्रो अर्को सिस्टम पनि देशको अनुकुल छैन ।’

उनले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गरे । उनले परिवर्तन स्थापित गर्न, संविधानसभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गरे ।