यान्त्रीकरणको प्रयोगसँगै धान उत्पादनमा वृद्धि



झापा । किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ ।

कार्यालयका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले परियोजना लागू भएपछि सिँचाइ सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम् प्रविधिको प्रयोगबाट धान बालीको उत्पादकत्व बढेको बताए । उनले जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा परियोजनाको कार्यक्रम लागू भएको जनाउँदै चालू आर्थिक वर्षमा धानको उत्पादकत्व बढेर प्रतिहेक्टर पाँच दशमलव ६९ मेट्रिक टन उत्पादन भएको बताए । झापामा हिउँदे, चैत र वर्षे धानको खेती हुँदै आएको उनको भनाइ छ ।


धान सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवद्र्धन तथा प्रशोधन उद्योगको स्थापनामार्फत कृषि औद्योगीकरणको विभिन्न कृषिजन्य सङ्घ संस्थामार्फत कृषकलाई आधारशीला तयार गरिदिएको जानकारी दिए । परियोजनाले साना सिँचाइ, कष्टम हायरिङ सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, डायर मेसिन, राइस ट्रान्सप्लान्ट मेसिन, उत्पादन प्रदर्शन, बेरो÷चैते धान विस्तार कार्यक्रम, बिज वृद्धि, धानखेती चक्लाबन्दी कार्यक्रम ५० प्रतिशतमा अनुदानमा सञ्चालन गर्दै आएको छ । जसका कारण जिल्लामा यान्त्रीकरणका माध्यमबाट खेती गर्नेसमेत बढेका छन् ।

जिल्लामा ७५ हेक्टर जमिनमा चैत धान बाली लगाइएको थियो । जसका लागि परियोजनाले १५ हेक्टरमा खेती गर्नका लागि रु १० लाखका दरले रु ५० लाख अनुदान प्रदान गरेको छ । स्वदेशी हाइब्रिड धानले किसानलाई उत्प्रेरित गराउनुका साथै खाद्य सुरक्षामा टेवा पु¥याउने उद्देश्यले २० हेक्टरमा लगाइएको उनको भनाइ छ ।

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै जानु स्वाभाविक भएको जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले बताए । उनले कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाइ किसानको दिगो आयस्तर वृद्धि गर्नु आजको आवश्यकता रहेको औँल्याए ।

झापामा परियोजनाद्वारा धान सुपरजोन, मकै जोन, सुपारी जोन र रबर जोन सञ्चालनमा छन् । चारवटै जोन सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु छ करोड १७ लाख २९ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये रु पाँच करोड १८ लाख किसानलाई कृषिमा प्रोत्साहनका कार्यक्रममा खर्च भएको परियोजनाले जनाएको छ ।